केएमसीमा ३४ वर्षपछि जित्यो नेविसंघ, अखिल क्रान्तिकारी दोस्रो

1744363311 KMC1


सुदूरपश्चिम विश्वविद्यालय मातहतको सबैभन्दा ठुलो क्याम्पस कैलाली बहुमुखी क्याम्पस(केएमसी)मा कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले ३४ वर्षपछि  बाजी मारेको छ। शुक्रबार सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनको मतगणनाको अन्तिम मतपरिणामअनुसार नेविसंघले अध्यक्ष र सचिवसहित बहुमत पदमा जित निकालेको छ। कोषाध्यक्षमा भने अखिल क्रान्तिकारीले बाजी मारेको छ।  

अध्यक्षमा नेविसंघका उम्मेदवार सन्तोष पन्तले ८२७ मत प्राप्त गरी जित निकाल्दा ५५८ मतसहित उनको निकटतम् प्रतिद्वन्द्वी  माओवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीका पवन सुनार रहे। एमालेको भातृसंगठन अनेरास्ववियूका उम्मेदवार यमराज जोशीभने ४२७ मतसहित तेस्रो रहे। जोशी ०७९ मा निर्वाचित स्ववियू सभापति पनि हुन्।

यस्तै नेकपा एसनिकट अनेरास्ववियुका उम्मेदवार सुनील कुमार जोशीले ६८ मत, स्वतन्त्र विद्यार्थी समुहकी अम्बिका चौधरीले ९२ मत प्राप्त गरिन्।

यस्तै सचिवमा ६९७ मतसहित नेविसंघका ओमप्रकाश वस्ती विजयी भए। ४९८ मतसहित अनेरास्ववियूका किरणप्रकाश उपाध्याय दोस्रो र ४६६ मतसहित अखिल क्रान्तिकारीका लोकेन्द्र चौधरी तेस्रो बने।  

कोषाध्यक्ष ६०८ मत ल्याएर अखिल क्रान्तिकारीका धर्मराज तिमिल्सिना विजयी भए। उनीभन्दा ४ मत मात्रै पछाडि परेकी नेविसंघकै प्रमिला शाहले ६०४ मत प्राप्त गरिन्। अनेरास्ववियूका प्रकाश भट्टले ४९२ मत प्राप्त गरे।  

केएमसीमा कुल तीनहजार पाँचसय भन्दा बढी विद्यार्थी अध्ययनरत् छन्। चैत २७ गते स्ववियू निर्वाचनमा दुईहजार ५७ मत खसेको थियो।

केएमसीमा पछिल्लो ३४ वर्षपछि नेविसंघबाट आधिकारिक उम्मेदवार विजयी भएका हुन्। यसअघि ०४७ सालमा भएको निर्वाचनमा नेविसंघ जितेको थियो। त्यसअघिका सबैजसो निर्वाचनमा नेविसंघ नै जित्ने गरेको थियो।  

त्यसपछि ०५१ को स्ववियु निर्वाचनमा अनेरास्ववियू जितेको थियो भने ०५३ र ०५५मा नेविसंघका बागी उम्मेदवार जितेका थिए। ०५७ साल यताका सबै निर्वाचनमा स्ववियु सभापतिमा अनेरास्ववियु जित्दै आएको थियो।

प्रकाशित: २९ चैत्र २०८१ १५:०७ शुक्रबार





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *