सानदार रूपमा इङ्लिस प्रिमियर लिगको उपाधि जितेपछि लिभरपुलका प्रशिक्षक आर्ने स्लटले क्लबसँग गरिएको अपेक्षामा आगामी सिजन पनि कुनै हालतमा कमी हुन नदिने बताएका छन्। आइतबार राति एन्फिल्डमा टोटनहम हट्सपरविरुद्ध ५–१ को सानदार जित निकाल्दै लिभपुरलले निकटतम प्रतिद्वन्द्वी आर्सनललाई चार खेल बाँकी छँदा नै पछि पार्दै उपाधि उचालेको हो।
यससँगै लिभरपुलले अब कट्टर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडसँग शीर्ष प्रतियोगिताको उपाधिमा बराबरी (२० उपाधि) गरेको छ। तर, प्रिमियर लिगमा लिभरपुलको दोस्रो उपाधि हो। प्रशिक्षक स्लटका लागि यो यादगार सफलता रह्यो। गत जुनमा योर्गन क्लोपको स्थानमा उनले लिभरपुलको प्रशिक्षण समालेका थिए। केही फुटबलका पण्डितले पनि पहिलो सिजनमा नै स्लटले उपाधि जित्न सक्ने आँकलन गरेका थिए। तर, उनीहरूले भनेजस्तो सुरुआत रहेन र उनले लिगको पहिलो दुई खेलमा नै हार सामना गरे।
म्यानचेस्टर सिटी, चेल्सी र आर्सनलले पनि लय जारी राख्न नसक्दा लिभरपुलाई पनि फाइदा मिल्यो। क्लबको सफलतापछि आइतबार एन्फिल्डबाहिर हजारौं समर्थकहरूले आतिसबाजीसहित खुसीयाली मनाएका थिए। सन् २०२० मा कोभिडका कारण लिभरपुलले क्लोज डोरका बीच लिगको ट्रफी उचाल्नुपरेको थियो। यसपल्ट भने लिभरपुलका लागि उत्साह मिलेको छ।
यसपल्ट राम्रोसँग करियर अगाडि बढाएका स्लटले आगामी सिजनका लागि पनि योजना तयारी नै रहेको उल्लेख गरेका छन्। उनले लक्ष्य पदक जित्ने नै भएकाले आफ्ना खेलाडीलाई प्रेरित गर्न कुनै कठिनाइ नहुने धारणा व्यक्त गरेका छन्। ‘मलाई आशाहरूलाई जोगाउन असहज हुने छैन। किनकि क्लबको लक्ष्य नै जहिल्यै पनि उस्तै र एउटै हुन्छ,’ डच प्रशिक्षक स्लटले प्रिमियर लिगको उपाधि जितेपछि भने, ‘हामी हरेक ट्रफीलाई पूरा गर्न चाहन्छौं। जस्तोसुकै अवस्थामा पनि लक्ष्य परिवर्तन हुने छैनन्।’
उनले आफ्नो टोलीमा रहेका खेलाडी पनि यो सफलता दोहोर्याउन सक्षम नै रहेको बताएका छन्। तर, यस लिगमा धेरै क्लबहरू उत्कृष्ट रहेकाले त्यति सहज भने नरहेको पनि उल्लेख गरेका छन्। यस्तो स्थिति रहे पनि लक्ष्यहरू पूरा गर्न तयार नै रहने लिभरपुलका प्रशिक्षक स्लटको विश्वास छ। लिग कप फाइनलमा न्युक्यासलसँगको हार र च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेनसँग स्तब्ध हुँदै बाहिरिएपछि लिभरपुलको लिग जित्ने सपना कमजोर हुन सक्ने आँकलन पनि गरिएको थियो।
तर, लिभरपुलले लय समाउँदै लिग जित्ने आधार बुन्यो। अलटाइम स्कोरर मोहम्मद सालाह, कप्तान भर्जिल भान डाइक र इङ्ल्यान्डका डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको भविष्यलाई लिएर अनिश्चित बनेको थियो। तर, सालाह र भान डाइकसँग नयाँ सम्झौता गदै क्लबको स्थायित्वका लागि प्रयास भएको छ। आफैँ पनि आर्नोल्डको नाम भने रियाल मड्रिडसँग जोडिएको छ। प्रशिक्षक स्लटले प्रिमियर लिगको उपाधि जित्ने गरी प्राथमिकतामा राखिने भन्दै क्लबको आवश्यकताअनुरूप नै हुने प्रतिक्रिया दिएका छन्। साथै उनले आगामी सिजन झन् कठिन बन्ने सक्ने पनि औंल्याएका छन्। एएफपी
प्रकाशित: १६ वैशाख २०८२ ०७:३९ मंगलबार