आउँदो महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गर्दै कांग्रेस नेता महरले भने : सरकारभित्र कांग्रेस हरायो

1748669151 mahar20ain


नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारभित्र कांग्रेस हराएको टिप्पणी गरेका छन्। उनले आफूलाई कांग्रेसको आउँदो महाधिवेशनमा महामन्त्रीको सशक्त र स्वाभाविक उम्मेदवारको रूपमा समेत चित्रित गरे।

नेपाल प्रेस युनियन ताप्लेजुङ ताप्लेजुङले शनिबार फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले संविधानले नचिन्ने संयन्त्रले सरकार चलाउँदा सरकारको भूमिका जनताको अपेक्षा अनुसार स्थापित हुन नसकेको दाबी गरे। सत्ता गठबन्धन नदगुरेको र धिमा चलेकोप्रति उनको रोष थियो। ‘म हिजो माओवादीसँगको गठबन्धनको पनि विपक्षमा थिएँ, अहिले पनि गठबन्धनको उद्देश्य अनुसार सरकार चलेको छैन, कांग्रेस सरकारभित्रै हरायो,’ नेता महरले भने।

गठबनधनको स्पिरिड र उद्देश्य अनुसार सरकार खास प्रभावकारी हुन नसकेको महरको आरोप छ। उनले संविधान संशोधन तत्कालका लागि आवश्यकता नै नभएको समेत बताए। उनले संविधान कार्यान्वयनमा प्रतिबद्ध हुनुपर्ने सहमति गर्नुपर्नेमा संविधान संशोधनको एजेण्डा अघि सारिनु त्यति युक्ति संगत नभएको उनको भनाइ थियो। 

संघीयता, धर्म निरपेक्षता र समावेशिताका विषयमा संविधानले भरपूर ग्यारेन्टी गरेकोले यसको उचित र सफल कार्यान्वयन अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो। वर्तमान सत्ता समीकरणबारे नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले मात्र निर्णय गरेको र त्यसयता कांग्रेसको केन्द्रीय समितिको बैठक समेत बस्न नसकेकोप्रति उनले आक्रोश पोखे। उनले भने, ‘सबै एजेण्डा सीमित नेतृत्व सहभागी हुने कार्य सम्पादन समितिको बैठकबाट अनुमोदन गर्ने प्रणालीले पार्टीलाई संस्थागत गर्न अवरोध पुर्याउँछ।’

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका अहिलेसम्मको कार्यप्रगति कार्यकर्ताको अपेक्षा अनुरुप नरहेको उनको भनाइ थियो। युवा पुस्ताले विश्वास गरेका महामन्त्रीद्वय थापा र शर्माले कार्यकालको ७ महिना अवधिमा काम गरेर देखाएमा मात्र युवा पुस्ताले फेरि उनीहरूलाई विश्वास गर्न सक्ने महरले बताए।

सम्पत्तिको मात्र उत्तराधिकारी हुने तर राजनीतिको उत्तराधिकारी नहुने टिप्पणी गरेका नेता महरले पुस्तान्तरण र हस्तान्तरणको विधि उमेर मात्र हो या जिम्मेवारी र अवसर पनि हो भनेर बुझ्न नेतृत्वलाई सुझाव दिए। आवधिक निर्वाचन प्रणालीका आधारमा कांग्रेस प्रजातान्त्रिक शक्ति भएको स्मरण गर्दै नेता मरहले कांग्रेसको महाधिवेशन समयमै सम्पन्न गरेर कांग्रेस प्रजातान्धिक शक्ति हो भने पुष्टी गर्नु अहिलेको आवश्यकता रहेको बताए।

मात्रिकाप्रसाद कोइराला नेतृत्वको सरकारपछिका कुनै पनि सरकार बहुमत नभएर होइन, आफ्नै पार्टीभित्रको अन्तरकलहका कारण ढलेको स्मरण गर्दै नेता महरले दलहरूमा देखिएको आन्तरिक खिचातानीले दलहरूलाई संस्थागत र व्यवस्थित गर्न अवरोध सृजना भइरहेको दाबी गरे। उनले पूर्व राजाका नाममा भइरहेका हर्कत गलत प्रवृत्तिको संज्ञा दिँदै राजाबाट हटेपछि ज्ञानेन्द्र नागरिक भइसकेको टिप्पणी गर्दै चलनचल्तीमा प्रयोग हुने पूर्व राजा भन्ने शब्द प्रयोग गर्न पनि वाञ्छनीय नहुने बताए।

प्रकाशित: १७ जेष्ठ २०८२ ११:११ शनिबार





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *