२९ चैत, काठमाडौं । अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ।
एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो।
न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन बालबालिका र तीन जना वयस्कको ज्यान गएको छ। उनीहरूको शव निकालिएको छ। हाम्रो समवेदना पीडित परिवारप्रति छ।’
घटनास्थलमै चार जनाको मृत्यु पुष्टि भएको र दुई जनालाई अस्पताल लगिएपछि मृत्यु प्रहरीले जनाएको छ ।
न्युयोर्क प्रहरीले सामाजिक सञ्जाल एक्समा दुर्घटनाबारे जानकारी दिँदै लेखेको छ, ‘वेस्ट साइड हाईवे र स्प्रिङ स्ट्रिट आसपासको क्षेत्रमा हेलिकोप्टर दुर्घटनाका कारण आपतकालीन सवारीसाधन र ट्राफिकमा ढिलाइको सम्भावना छ।’
न्युयोर्क सिटी फायर डिपार्टमेन्टका अनुसार दिउँसो करीब ३:१५ बजे वेस्ट ह्युस्टन स्ट्रिट र वेस्ट स्ट्रिट नजिक पियर ४० को आसपास हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा बेल २०६ मोडेलको हेलिकोप्टर दुर्घटनापछि पल्टिएको देखिन्छ, र केहीबेरमा पूरै पानीमा डुबेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन्, ‘हडसन नदीमा भएको हेलिकोप्टर दुर्घटना निकै भयावह छ। पाइलट, दुई वयस्क र तीन बालबालिकासहित ६ जनाको ज्यान गएको देखिन्छ। दुर्घटनाको भिडियो निकै पीडादायक छ। पीडित परिवारप्रति हाम्रो प्रार्थना छ।’
उनले अमेरिकाका यातायात सचिव सीन डफी र उनकी टिम यस विषयमा सक्रिय रहेको जानकारी पनि दिए।