२७ चैत, काठमाडौं । साना माछा पक्राउ गर्ने र ठूला माछालाई उन्मुक्ति दिने आरोप खेप्दै आएको प्रहरी वर्ष २०८१ मा भने केही भीआईपीलाई पक्राउ गर्न सफल भयो । यो वर्ष मेयरदेखि सांसद, मन्त्री, उपप्रधानमन्त्री र प्रहरीका डीआईजीसम्म पक्राउ पर्ने र कारागार पठाउनेसम्मको अवस्था रह्यो ।
कतिपय घटनामा ठूला माछा समात्न सफल रहेको प्रहरी केही भीआईपी जोडिएका घटनामा भने निष्प्रभावी पनि देखियो ।
केही भीआईपी धमाधम पक्राउ परेर जेल जाँदा केही भीआईपीको केसमा भने सत्ताको छाया परेको आरोप प्रहरीमाथि लाग्दै आएको छ ।
केही घटनामा अस्वभाविक रूपमा तीव्र अनुसन्धान र कारागार चलानको अवस्था भयो भने कुनै घटनामा अनुसन्धान नै नगर्नेसम्मको बेथितिले यो वर्ष पनि निरन्तरता पायो । सत्ता निकटका व्यक्ति जोडिएका विषयहरूमा प्रहरी अनुसन्धान फिक्का रह्यो ।
अनुसन्धान भएका कतिपय घटनामा प्रहरीलाई स्वतन्त्र अनुसन्धान गर्न दिने हो भने उत्कृष्ट काम गर्नसक्छ भन्ने नमुना पनि देखियो । तर केही भीआईपी व्यक्तिको हकमा भने अनुसन्धान नै नहुने स्थिति यो वर्ष पनि देखियो ।
केही छुटपुट घटनालाई बाहिरै राखेर हेर्दा, उच्च तहमा पुग्दैमा पहुँचको भरमा उन्मुक्ति पाइँदैन भन्ने सन्देश यस वर्षका केही अनुसन्धानले देखाए । सहकारी ठगीमा भीआईपीको चर्चादेखि पक्राउ र जेलसम्मको यात्रा यसै वर्ष भयो । अघिल्लो वर्ष भुटानी शरणार्थी प्रकरणमा भीआईपी व्यक्ति पक्राउ परेजस्तै यो वर्ष सहरकारीमा पनि भीआईपी व्यक्ति पक्राउ परे ।
०००
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सोमबार मात्रै जिल्ला कारागार भैरहवा, रुपन्देही चलान भए । शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका उनी अहिले भैरहवा कारागारमा पुर्पक्षमा छन् ।
यसअघि सहकारी ठगी प्रकरणमा १३ माघ २०८१ मा बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
तर, उक्त आदेशविरुद्ध सरकारी वकिल पक्ष र रवि आफैँ पनि उच्च अदालत बुटवल पुगेका थिए । सरकारी पक्षले धरौटीमा छाड्ने आदेश बदर गर्दै पुर्पक्षमा लागि थुनामै राख्नुपर्ने माग गरेको थियो भने रविले धरौटीको आदेश खारेज गर्दै साधारण तारेखमा रिहा हुनुपर्ने माग गरेका थिए ।
उच्च अदालत गएका यी दुवै पक्षको निवेदन एकसाथ राखेर सुनुवाइ भएको थियो । जसमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले यसअघिको आदेश खारेज गर्दै पुर्पक्षका लागि कारागार पठाउने आदेश गरे ।
अदालतको आदेशको सम्मान गर्दै शरीरमा रगत रहेसम्म लडाईं जारी राख्ने लामिछानेले बताएका छन् ।
०००
सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएकी अर्की सांसद हुन् गीता बस्नेत । मुद्दा दर्ता भएपछि राप्रपाकी सांसद गीता बस्नेत अहिलेसम्म फरार छिन् ।
पूर्वी नवलपरासीस्थित छिपछिपे सहकारीको रकम हिनामिना गरेको आरोपमा उनीसहित २५ जनाविरुद्ध २० जेठ २०८१ मा मुद्दा दर्ता भएको थियो ।
संस्थाको पदाधिकारी नरहे पनि बचतकर्ताको रकम अनियमित रूपमा ढकाल सञ्चालक रहेको बर्दियास्थित कृष्णसार रिसोर्टमा लगानी भएको देखिएपछि उनी पनि प्रतिवादी बनेकी थिइन् । रिसोर्टमा मात्र सहकारीको ९६ करोड हिनामिना गरेको आरोप छ ।
तर, प्रहरीले उनलाई अहिलेसम्म पक्राउ गरेको छैन । देश बाहिर रहेकाले पक्राउ गर्न नसकिएको भन्दै प्रहरी चोखिने गरेको छ ।
०००
रवि र गीता जस्तै नेपाली कांग्रेसकी सांसद माया राई पनि सहकारी ठगीमा मुछिइन् । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीविरुद्ध पक्राउ पुर्जी नै जारी भएको थियो ।
तर, सरकारी वकिल कार्यालयबाट मुद्दा चलाउने बेला भने उनलाई उन्मुक्ति दिएर बाँकीलाई मुद्दा चलाइएको थियो । राई स्वर्णलक्ष्मी सहकारीको सहसचिवसमेत थिइन् । यही सहकारीमा रास्वपाका सभापति रवि लामिछानेलाई प्रतिवादी बनाएर मुद्दा चलाइएको थियो ।
यो केसको अनुसन्धानमा भने सत्ताको दबाब प्रहरी स्वयंले महसुस गरेको थियो । सत्तापक्षका सांसदलाई पक्राउ पुर्जी हुँदासमेत पक्राउ नगरी मुद्दा लगिएको थियो भने त्यसमाथि सरकारी वकिलले उन्मुक्ति दिएको थियो । त्यतिबेला अनलाइनखबरसँग कुरा गर्दै सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले उन्मुक्ति दिएको नभई थप अनुसन्धान गर्न भनेकाले प्रतिवादी नबनाइएको दाबी गरेका थिए । यद्यपि, राई अहिलेसम्म फरार छिन् ।
०००
सहकारी ठगीमै अर्का भीआईपी अहिले कारागारमै छन् । नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका छविलाल जोशीविरुद्ध विभिन्न पाँच वटा सहकारीमा अनुसन्धान भयो । चार वटा सहकारीको मुद्दा अदालत पुगिसकेको छ भने वीरगञ्जको सानोपाइला सहकारीको भने अनुसन्धान जारी नै छ ।
पोखराको सूर्यदर्शन सहकारी, कालिमाटीको स्वर्णलक्ष्मी र चितवनको सहारा चितवनमा धरौटीमा छुटेका उनी बुटवलको सुप्रिम सहकारीमा भने पुर्पक्षमा कारागार चलान भए ।
उनी अवकाश भएपछि गोर्खा मिडिया नेटवर्कको सञ्चालकसमेत भएका थिए । सोही गोर्खा मिडियामा सहकारीको रकम लगेर अपचलन गरेको आरोप लागेको पाइएपछि संसदीय छानबिन समितिले उनलाई कारबाही गर्न निर्देशन गरेको थियो । त्यसपछि उनी पक्राउ परेका थिए ।
०००
सहकारी ठगीमै प्रहरीले सफलता पाएको अर्को केस हो, मेयर देवकुमार नेपाली गिरफ्तार । नेकपा एमालेबाट निर्वाचित ढोरपाटनका मेयर देवकुमार नेपाली पनि यसै वर्ष पक्राउ परे । १६ महिनादेखि फरार उनी गत असोजको दोस्रो साता दिल्लीबाट पक्राउ परेका थिए । बाग्लुङको इमेज सहकारी र पोखराको सूर्यदर्शन सहकारीको २ अर्ब बढी रकम हिनामिनाको आरोप उनीमाथि थियो ।
इन्टरपोलबाट रेड नोटिस जारी हुँदा पनि उनी पक्राउ पर्न सकेका थिएनन् । दिल्लीबाट पक्राउ गरेर ल्याउनु निकै ठूलो सफलता रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।
०००
सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला पनि सहकारी ठगीमा जोडिइन् । तर उनलाई प्रहरीले पक्राउ गरेन । मुद्दा अदालतमा गएपछि सुटुक्क उनी अदालतमा उपस्थित भइन् र अदालतको आदेश अनुसार १० लाख धरौटी बुझाएर रिहा भइन् ।
यो घटनामा पक्राउ पर्नु मात्रै ठूलो नभएर मुद्दा चल्नु ठूलो विषय भएकाले उनीमाथि मुद्दा चलाउनुलाई नै प्रहरीले सफलता मानेको छ ।
केही घटनामा अस्वाभाविक ढंगको तीव्र अनुसन्धान र कारागार चलानको अवस्था भयो भने कुनै घटनामा अनुसन्धान नै नगर्नेसम्मको बेथितिले यो वर्ष पनि निरन्तरता पायो । सत्ता निकटका व्यक्ति जोडिएका विषयमा प्रहरी अनुसन्धान फिक्का रह्यो ।
मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना भएको थियो । शिक्षकसमेत रहेकी कोइराला मुद्दा दर्तापछि विद्यालयबाट बिदा लिएर फरार भएकी थिइन् । श्रीमती सहकारीमा मुछिएपछि ऋषिकेश पोखरेलविरुद्ध पनि प्रश्न उठेको थियो ।
०००
सहकारी ठगीमा मेयरदेखि उपप्रधानमन्त्रीसम्म भएका व्यक्ति पक्राउ परेर जेल जानुले अपराध गर्ने जोकोहीलाई छुट हुँदैन भन्ने सन्देश दिएको देखिन्छ । अर्कोतर्फ भने केही अनुसन्धानका घटनामा सत्ताको छाया परेको देखिएकाले अनुसन्धानमै प्रश्न उठ्ने गरेको सुरक्षाका जानकारहरु बताउँछन् ।
उच्च अहोदामा रहेका तथा राजनीतिक नेतृत्व जोडिएका केही घटनामा अनुसन्धानमै उदासिनतासमेत देखिएको छ ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई मितेरी सहकारीको रकम अनियमिततामा जोडिएको आरोप लाग्यो । तर यसको अनुसन्धानमा प्रहरीले उदासिनता देखाएको आरोप खेप्दै आएको छ ।
अहिलेसम्म यसको अनुसन्धानमा कुनै प्रगति हुन सकेको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका अधिकारीहरु अनुसन्धान भइरहेको भनेर पन्छिने गरेका छन् ।
सीआईबीका एसएसपी होविन्द्र बोगटी अनुसन्धानले गति लिएको र निरन्तर जारी नै रहेको दाबी गर्छन् । सीआईबीले गुरुङलाई लाजिम्पाटस्थित आफ्नै कार्यालयमा बोलाएर दुई पटक सोधपुछ गर्नुबाहेक केही प्रगति हुन सकेको छैन ।
मितेरी सहकारीमै गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ जोडिएपछि उनीविरुद्ध रेड नोटिससमेत जारी भइसकेको छ । तर अहिलेसम्म उनी पक्राउ पर्न सकेकी छैनन् । सहकारी ठगीमै जोडिएपछि उन्मुक्ति पाउन धनराजले कागजी डिभोर्स गरेकोसम्म आरोप लाग्यो । तर यस विषयलाई उनी अस्वीकार्दै आएका छन् ।
०००
अर्का भीआईपी लिलाबल्लभ अधिकारी पनि यसै वर्ष प्रहरी हिरासत पुगे । कोशीको मन्त्री रहेकै बेला जापानमा मानव तस्करी गरेको आरोपमा उनी २६ कात्तिकमा पक्राउ परे । एमालेका नेतासमेत रहेका अधिकारीले कोशी प्रदेशको आन्तरिक मामिला मन्त्री रहेका बेला ३ जनालाई जापानमा मानव तस्करी गर्न खोजेको आरोप लाग्यो ।
पछि उनीहरू जापानकै अध्यागमनबाट फर्काइएका थिए । त्यसपछि बल्ल अधिकारीको विषय बाहिरिएको थियो । त्यतिबेला एमालले उनलाई पार्टीको संगठित सदस्यबाटसमेत निलम्बन गरेको थियो ।
पक्राउ गरी उनलाई काठमाडौं ल्याएर हिरासतमा राखियो । तर मुद्दा दर्ता गर्ने बेलामा उनले उन्मुक्ति पाए । घटना लगत्तै प्रहरीलाई जानकारी गराएको र मानव तस्करीको मनसाय नरहेको भन्दै उनले उन्मुक्ति पाएका थिए ।
०००
पूर्वसांसद रहेका ढाकाकुमार श्रेष्ठ लागुऔषधसहित पक्राउ परे । कास्की प्रहरीले उनलाई लागुऔषध बेचेको आरोपमा पक्राउ गरेको थियो ।
३ साउनमा प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागू औषध ट्रुपाइनको ९७ चक्कीसहित पक्राउ गरेको थियो । उनले उक्त औषधि पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट खरिद गरेको भनेर बयान दिएका थिए ।
त्यसपछि उक्त फार्मेसीका सञ्चालक पूर्वसांसद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । पछि उनी ७५ हजार धरौटीमा रिहा भए ।
०००
वर्ष २०८१ मा वर्ष पक्राउ पर्ने अर्का भीआईपी हुन् दीपक मनाङे । पटकपटक प्रदेश मन्त्री भएका सांसद मनाङे २७ कात्तिकदेखि डिल्लीबजार कारागारमा छन् ।
मनाङेको समूहले २०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा अर्का गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङलाई तरबार हानेको थियो । त्यसपछि मनाङे समूह विरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भयो ।
जिल्ला अदालत, काठमाडौंले ज्यान मार्ने उद्योग नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो । अरुलाई सफाइ दियो ।
फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय तत्कालीन पुनरावेदन अदालत, पाटन गयो । अदालतले ज्यान मार्ने उद्योग (प्रयास) गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।
२०७४ मा मनाङबाट स्वतन्त्र सांसद निर्वाचित भएपछि मनाङे २०७५ वैशाखमा अदालतमा उपस्थित भएर डिल्लीबजार कारागार चलान भए । १० वर्षभन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार उनी छुटे ।
सरकारी वकिलको कार्यालय भने मनाङे बाहेकका चार जनालाई पनि सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च गएको थियो । सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङे पटक–पटक मन्त्री बने ।
२० कात्तिकमा सर्वोच्चले उच्च अदालतको फैसला सदर गर्दै ५ वर्ष कैदको निर्णय गर्यो । त्यसपछि उनी पक्राउ परेर अहिले जेलमा छन् ।
यस्तै, यही चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा राप्रपाका नेता रवीन्द्र मिश्र र सांसदसमेत रहेका धवल शमशेर राणा पक्राउ परे । उनीहरू दुवैलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
०००
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्यविरुद्धका कार्य गरेको भन्दै राप्रपा सांसद धवलशमशेर जबरा र वरिष्ठ नेता रवीन्द्र मिश्र पनि हिरासतमा छन् ।
पछिल्लो पटक उनीहरूविरुद्ध अनुसन्धानका लागि प्रहरीले १५ दिनको म्याद अदालतबाट लिएको छ ।
उक्त प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं भने अझै फरार छन् । प्रसाईंलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै तीव्र आलोचना पनि भइरहेको छ ।
उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको छ ।
सोही प्रदर्शनमा दुई जनाको ज्यान समेत गएको थियो ।
०००
भीआईपीमाथि अनुसन्धान हुनु निकै सकारात्मक पाटो रहेको पूर्वडीआईजी हेमन्त मल्लको बुझाइ छ । ‘अनुसन्धान स्वतन्त्र भएर प्रहरीले नै गरेको होला भन्ने लाग्दैन तर जे भए पनि उच्च तहसम्म पुगेर अनुसन्धान हुनुलाई सकारात्मक बुझ्नुपर्छ,’ उनी भन्छन् ।
पछिल्ला केही वर्षहरूमा भीआईपी जोडिएका घटनाको अनुसन्धानले गति पाउन थाले पनि त्यो पर्याप्त नभएको उनको ठम्याइ छ । अघिल्लो वर्षमा पनि भुटानी शरणार्थीदेखि ललिता निवास, लगायतका घटनामा भीआईपीहरू पक्राउ परेका थिए । केही अहिले पनि कारागारमा छन् ।
तर, बाल मन्दिर, बाँसबारी छाला जुत्ताको जग्गामा भीआईपी व्यक्ति जोडिएको अनुसन्धानमा सत्ताको छाया प्रष्ट रूपमा देखिएको एक पूर्वएआईजी बताउँछन् ।
‘केही घटना हेर्ने हो भने राम्रै भएजस्तो देखिन्छ । तर भीआईपी व्यक्ति जोडिएका बाँसबारी, बालमन्दिर गिरीबन्धु, पतञ्जलीको जग्गाजस्ता विषयमा सत्ताको छाया परेको देखिन्छ । प्रहरी स्वतन्त्र भएर काम गर्ने अवस्था छैन,’ मल्लले भने ।